Friday, 27 October 2017

जंगली हात्तीलाई उत्तेजित नपार्न निकुन्जको आग्रह


हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ। पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हुँदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्रवेश गर्ने गरेको बताए। धानलगायतका बाली खाएसँगै स्थानीयवासीले लखेट्ने क्रममा हात्ती उत्तेजित भई धनजनको क्षति हुने गरेको कँडेलको भनाई छ।
स्थानीयासी राँको बालेर लखेट्ने, छर्रा हान्ने, भाला हान्ने, होहल्ला गर्ने, रात बिहानको समयमा एक्लै जंगलमा हिँड्नेजस्ता कार्य गर्दा हात्तीले आक्रमण गर्ने गरेको पाइन्छ । हात्तीलाई नजिस्काए धानलगायतका बाली खाए पनि अन्य क्षति नहुने हुँदा नजिस्काउन र उत्तेजित नपार्न कँडेलले आग्रह गरे।
कँडेलले बाली नास गरेमा क्षतिपूर्ति दिने व्यवस्था भएकाले हात्तीलाई नजिस्काएमा जनधनको कम क्षति हुने बताए। जंगली हात्तीले निकुञ्ज जोडिएका नवलपरासीको नन्दपुर, सेरे, तमासपुर, चितवनको मेघौली, सौराहा, माडीको अयोध्यापुरी, गर्दी, सौराहाको हात्ती प्रजनन केन्द्र लगायतका क्षेत्रमा दुःख दिँदै आएको छ ।
एक दुई हुँदै बथानमा भाले जंगली हात्ती गाउँ पस्ने गर्दछ । निकुञ्ज भित्र हिउँदमा पानी र घाँसको अभाव भएसँगै जंगली हात्ती बस्ती पस्ने गरेको छ।
निकुञ्ज आसपासका खरले छाएका झुप्रामा हात्तीले बढी आक्रमण गर्छ । घरमा राखिएका नून, मसला, तेल र धान खानको लागि हात्तिले आक्रमण गर्ने गरेको स्थानीयले बताएका छन् । हात्तीको सबैभन्दा बढी रोजाइ स्थानीय मदिरा हुने भएकाले त्यसको खोजीमा पनि हात्तीले बस्तीमा पसेर मानिसलाई दुःख दिँदै आएको कँडेलले बताए। रासस

No comments:

Post a Comment