एमाले नेता शंकर पोखरेल र माओवादी
नेता कृष्णबहादुर महराले एउटै क्षेत्रमा दाबी गरेपछि कार्यदलले दाङका
निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन सकेको थिएन। दुबैले दाबी नछोडेपछि
कार्यदलले विवाद मिलाउने जिम्मा एमाले र माओवादीको शीर्ष तहलाई जिम्मा
लगाएको थियो।
शीर्ष तहको बैठकमा दाङ क्षेत्र नम्बर २
माओवादी केन्द्रलाई दिने सहमति जुटेको एक नेताले बताए। योसँगै दाङ क्षेत्र
नम्बर २ मा वामपन्थी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा माओवादी
केन्द्रका नेता महरा उठ्ने पक्का भएको छ।
महराले दाङ क्षेत्र नम्बर २ बाट आफू
उम्मेदवार हुने पक्का भएको बताए। ‘दाङ क्षेत्र नम्बर २ माओवादीले पाउने
सहमति भएको छ। शीर्ष तहमा यस्तो सहमति भएको मैले जानकारी भर्खरै पाएको छ,’
महराले नेपालखबरसँग भने।
प्रतिनिधि सभा सदस्यका लागि दाबी गरिरहेका
पोखरेललाई एमालेले प्रदेशमा पठाउने तयारी गरेको छ। एमालेले पोखरेललाई
महराले प्रतिस्पर्धा गर्ने क्षेत्रबाटै प्रदेश सभा सदस्यको उम्मेदवार
बनाउने लगभग पक्का भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी
सदस्य एवं पूर्वसञ्चारमन्त्री पोखरेललाई प्रदेश सभामा उठ्न आग्रह गरेका
थिए।
पोखरेल प्रदेश सभामा जान अझै मानिसकेका
छैनन्। तर, एमालेले दाङ क्षेत्र नम्बर २ माओवादीलाई दिन सहमत भइसकेकाले अब
पोखरेल प्रदेश सभामै जाने सम्भावना बढेको छ। यसअघि बिहीबार बसेको कार्यदल
बैठकमा पोखरेलले अडान नछोडेपछि क्षेत्र बाँडफाँटको कुरा मिल्न सकेको थिएन।
पोखरेलले दाङ क्षेत्र नम्बर २ आफूले नछोड्ने बताएपछि निर्वाचन क्षेत्र
बाँडफाँड गर्न बनाइएको कार्यदलले विवाद मिलाउन शीर्ष तहमा पठाएको थियो।
एमाले र माओवादी केन्द्रबीच दाङका तीन वटै
क्षेत्रको सिट बाँडफाँट टुंगिएको छ। सहमति अनुसार माओवादीले दाङमा एक सिट
प्रतिनिधि सभामा एक सिट र प्रदेश सभामा तीन सिट पाउने भएको छ। एमालेले
प्रतिनिधि सभामा २ र प्रदेश सभामा तीन सिट पाएको छ।
No comments:
Post a Comment