Friday, 27 October 2017

छट पर्वः अस्ताउँदो सूर्यलाई अर्घ अर्पन


मोरङका विभिन्न ठाउँहरूमा छठ पर्वका वर्तालुहरूले धार्मिक विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरेका छन्।

जलाशयमा मनाइने गरिएको यो पर्वमा वर्तालुहरूले कम्मरसम्म पानीमा पसेर छठ माता र सूर्यदेवको पूजा गरेपछि प्रसादको रुपमा राखिएका सामग्री लिएर सूर्यदेवलाई अर्घ अर्पन गरेका हुन्।
यसैबीच विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठ पर्वको पूजास्थलसम्म सुतेर दण्डवत गर्दै पुगेका छन्। विगत १४ वर्षदेखि उनी आफ्नो घरदेखि सिंग्याहीखोलाको एक किलोमिटरभन्दा बढीको दूरी सो विधि अपनाएर पूरा गर्दै आएका छन्।
उनले लगातार १३ वर्षसम्म आफ्नो परिवारको कल्याणका लागि सुतेर दण्डवत गर्दै पुजास्थलसम्म पुगेको र यसपल्ट नगरवासीको कल्याणको लागि गरिएको बताए।
कात्तिक शुक्ल षष्ठीदेखि शुरु भएको यस पर्वको बुधबार खरना थियो भने आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गरिएको छ र भोलि उदाउँदो सूर्यलाई अर्घ अर्पन गरेपछि पर्व विधिवत सम्पन्न हुन्छ।
विराटनगरस्थित सिंग्याही खोला, केशलिया खोला, नहरलगायत विभिन्न जलाशयहरूमा उल्लासमय वातावरणमा छठ पर्व मनाइरहेको देखिन्छ। हजारौंको सङ्ख्यामा पर्व हेर्नेहरूको उपस्थिति रहेको छ। रासस

No comments:

Post a Comment